
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी अब संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढ्ने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित बागमती प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तह केन्द्रित भेलामा सभापति थापाले लोकतान्त्रिक व्यवस्था जोगाउन पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए।
मुलुकको प्रमुख चुनौती अहिले आर्थिक संकट भएको उल्लेख गर्दै बढ्दो महँगीले सर्वसाधारणको दैनिक जीवन कठिन बन्दै गएको बताए। बैंकहरूमा लगानीयोग्य पूँजी भए पनि आर्थिक गतिविधि सुस्त भएकाले व्यवसायी र किसान दुवै मारमा परेको उनको भनाइ थियो।
'व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्, किसान समस्यामा छन्। अब सरकार राजनीतिक विवादमा अल्झिनु भन्दा अर्थतन्त्र सुधारमा केन्द्रित हुनुपर्छ,' थापाले भने।
सभापतिले कांग्रेसभित्र देखिएको गुटबन्दी र सार्वजनिक विवादप्रति पनि असन्तुष्टि व्यक्त गरे। यस्ता गतिविधिले पार्टीको छवि कमजोर बन्दै गएको भन्दै उनले आगामी चुनावलाई मात्रै लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले 'गुट भत्काउने र संगठन मजबुत बनाउने' अभियानमा रहेको बताए। विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत जिम्मेवारी दिइनु पार्टी एकताको संकेत भएको उनको भनाइ थियो।
उनले सीमित समूहलाई मात्र अवसर दिँदा विभाजन बढ्ने खतरा रहने भएकाले सबै पक्षलाई समेट्दै पार्टीलाई अघि बढाइने स्पष्ट पारे।
कार्यक्रममा महामन्त्री प्रदीप पौडेल, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत नेताहरूले कांग्रेसलाई गरिब, श्रमिक र आम नागरिकको हितका लागि काम गर्ने पार्टीका रूपमा प्रस्तुत गरेका थिए।










Facebook Comments