
नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेपछि उनी उत्साहित बनेकी छन्। भण्डारी निकट स्रोतले एमालेको कदमलाई सकारात्मक र अपेक्षाअनुसारको निर्णय भन्दै स्वागत गरेको छ।
भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार, पार्टीले विगतदेखि नै आवश्यकता अनुसार उनलाई जिम्मेवारी दिँदै आएको स्मरण गराइएको छ। एमालेकै निर्णयअनुसार उनी पार्टीको उपाध्यक्ष बनेकी थिइन् भने त्यसपछि लगातार दुई कार्यकाल मुलुकको राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन्।
राईले भण्डारी आवश्यकता परे सक्रिय राजनीतिमा फर्कन तयार रहेको संकेत दिएका छन्। उनका अनुसार राजनीति, जलवायु परिवर्तन, महिला तथा बालबालिकाको अधिकार र समाजसेवाजस्ता क्षेत्रमा भण्डारीको अनुभव र सक्रियता अझै पनि उपयोगी हुन सक्छ।
‘पार्टी र देशलाई आवश्यकता परे उहाँ नेतृत्वदायी भूमिकामा आउन तयार हुनुहुन्छ,’ राईको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ। संकट र चुनौतीका बेला भण्डारीको अनुभवले सकारात्मक योगदान दिन सक्ने उनको विश्वास छ।
सोमबार बसेको एमाले सचिवालय बैठकले सदस्यता नवीकरणको निर्णय गरेसँगै भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएको राजनीतिक वृत्तमा चर्चा छ।










Facebook Comments