
काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले संसद् र जनतालाई ढाँट्ने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले बुझिसकेको भए पनि अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका हुन्। उनले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी संसदका सबै सदस्यलाई उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
उनले यस्ता गम्भीर प्रकृतिका घटनामाथि बनेका प्रतिवेदन गोप्य राखिनु लोकतान्त्रिक मूल्य–मान्यता र पारदर्शिता विपरीत हुने बताए।
उनले उक्त प्रतिवेदन किन रोकिएको हो,कसको स्वार्थमा सार्वजनिक नगरिएको हो भन्नेबारे संसदलाई स्पष्ट जानकारी दिन सरकारसँग माग गरे। सरकारले महत्त्वपूर्ण प्रतिवेदनहरू लुकाएर दोषीहरूलाई उन्मुक्ति दिन खोजेको उनको आरोप छ।









Facebook Comments