
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् ।
बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । संसदको रोस्ट्रम घेराउ गर्दै उनीहरूले सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएको पर्चा देखाएका हुन्।
पर्चामा ‘प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन,जनमतको सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गर’ लेखिएको छ।
झण्डै आधा मिनेट जति पर्चा देखाएपछि साम्पाङसहित सांसदहरू आफ्नो ठाउँमा आएर बसेका थिए। उनीहरूले सोही पर्चा छातीमा टाँसेर बैठकमा भाग लिएका छन् ।
उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए ।
सो पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो ।










Facebook Comments