काठमाडौँ । नेकपा (एमाले) का नेता झपटबहादुर रावलले पछिल्लो आम निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी नेतृत्व तहले लिनुपर्ने बताएका छन्। उनले निर्वाचन परिणामबारे गम्भीर समीक्षा गर्दै पार्टी पुनर्गठनको दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

जेठ ४ गते बस्न लागेको एमाले सचिवालय बैठकअघि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रावलले निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि पार्टीले औपचारिक समीक्षा गर्न नसकेकोप्रति असन्तुष्टि जनाएका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको रणनीति र निर्णय प्रक्रियाले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्।

ad

रावलले पार्टीले प्राप्त गरेको मत परिणाम र नेतृत्वले दाबी गर्दै आएको जनसमर्थनबीचको अन्तरबारे निष्पक्ष समीक्षा आवश्यक रहेको बताएका छन्। उनका अनुसार अहिले पार्टीभित्र देखिएको मौनताले कार्यकर्ता पंक्तिमा अन्योल र निराशा बढाएको छ।

उनले सचिवालय बैठकलाई सामान्य प्रशासनिक प्रक्रियामा सीमित नगरी पार्टीको भविष्य र संरचनामाथि गम्भीर बहस गर्ने थलो बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर व्यापक छलफल र पुनर्गठनको खाका तयार गर्नुपर्ने माग पनि गरेका छन्।

रावलले पुरानै कार्यशैली र साङ्गठनिक ढाँचाबाट पार्टीलाई अघि बढाउन कठिन हुने संकेत गर्दै नयाँ पुस्ताको भावना समेट्ने गरी रूपान्तरण आवश्यक रहेको बताएका छन्। उनले मूल राजनीतिक प्रश्नलाई पन्छाएर प्राविधिक विषयमा मात्र केन्द्रित भए पार्टी थप सङ्कटतर्फ धकेलिन सक्ने चेतावनी समेत दिएका छन्।