
काठमाडौं । अण्डाको मूल्य लगातार उकालो लाग्न थालेपछि उपभोक्तामाथि थप आर्थिक भार परेको छ। उत्पादन लागत बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले फेरि अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो।
संघले सोमबारदेखि लागू हुने गरी अण्डाको भाउ बढाएको जनाएको छ। नयाँ मूल्यअनुसार अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य करिब २५ रुपैयाँसम्म पर्ने भएको छ।
संघका अनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट ३० रुपैयाँ बढेर ५३० रुपैयाँ पुगेको छ। ठूलो अण्डा पनि ३० रुपैयाँले महँगिएर प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ। सबैभन्दा बढी वृद्धि मिडियम अण्डामा भएको छ, जसको मूल्य प्रति क्रेट ५० रुपैयाँ बढेर ४८५ रुपैयाँ पुगेको छ। सानो अण्डाको मूल्य भने प्रति क्रेट ३८५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि एक्सएल अण्डा ५०० रुपैयाँ, ठूलो अण्डा ४८५ रुपैयाँ, मिडियम अण्डा ४३५ रुपैयाँ तथा सानो अण्डा ३६० रुपैयाँ प्रति क्रेटमा बिक्री हुँदै आएको थियो। पछिल्ला दुई सातामै अण्डाको मूल्य ८५ रुपैयाँसम्म बढेको व्यवसायीहरूले बताएका छन्।
संघले दाना, ढुवानी, प्याकेजिङ तथा उत्पादनसम्बन्धी अन्य खर्च बढेका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ। उत्पादन लागत बढ्दो क्रममा रहे पनि अण्डा उत्पादन भने अपेक्षाकृत घट्दै गएको संघको भनाइ छ।
हाल नेपालमा दैनिक ३५ लाख गोटाभन्दा कम अण्डा उत्पादन भइरहेको बताइएको छ। उत्पादन घट्नु र सञ्चालन खर्च बढ्नुले बजार मूल्यमा प्रत्यक्ष असर परेको व्यवसायीहरूको दाबी छ।
लगातार मूल्यवृद्धिका कारण उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुमा थप महँगीको सामना गर्नुपरेको छ।










Facebook Comments