काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच नेताहरूले दिएका अभिव्यक्तिले कांग्रेस थप ध्रुवीकरणतर्फ उन्मुख भएको संकेत गरेका छन्।

गृह जिल्ला सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको टिप्पणी गरेका थिए। उनले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने जिम्मेवारी वर्तमान सभापति गगन थापाको काँधमा रहेको बताएका थिए। खड्काको यो अभिव्यक्तिसँगै काठमाडौंमा इतरपक्षले छुट्टै पार्टी कार्यालय खोजिरहेको चर्चा पनि सार्वजनिक भएको छ।

ad

गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसभित्रको विवाद झन् गहिरिएको थियो। विधानअनुसार माग गरिएको विशेष महाधिवेशनलाई तत्कालीन संस्थापन पक्षले अस्वीकार गरेपछि इतर समूहले आफ्नै पहलमा विशेष महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व चयन गरेको थियो। उक्त महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए।

विशेष महाधिवेशनको वैधानिकतामाथि देउवा समूहले सर्वोच्च अदालतमा चुनौती दिएको भए पनि अदालतले महाधिवेशनलाई वैध ठहर गरिसकेको छ। कानुनी विवाद टुंगिए पनि राजनीतिक दूरी भने अझै घट्न सकेको छैन।

यहीबीच सभापति थापाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीभित्र रहेका असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिएर समेट्न तयार रहेको सन्देश दिएका छन्। उनले १४औँ महाधिवेशनबाट निर्वाचित धेरै नेताहरू अहिले सक्रिय भूमिकाभन्दा बाहिर रहेको उल्लेख गर्दै उनीहरूलाई पुनः जिम्मेवारीसहित अघि ल्याउनुपर्ने बताएका हुन्।

थापाले पार्टीलाई सीमित घेराभन्दा बाहिर समाजकेन्द्रित बनाउने आफ्नो योजना रहेको पनि बताए। उनले वरिष्ठ नेता बनाइनुपर्ने व्यक्तिलाई सोही जिम्मेवारी दिने र आवश्यकताअनुसार अन्य नेताहरूलाई पनि उचित भूमिकामा राखेर सहकार्य गर्ने प्रस्ताव अघि सारे।

उनले भने, 'पार्टीलाई समाजको सेवामा लैजान चाहन्छु। संगठनभित्र मात्र सीमित राख्ने सोच छैन। पार्टीभित्रका विषयहरू पनि महत्त्वपूर्ण छन् र त्यसमा काम हुन्छ। बाहिर रहेका नेताहरू इच्छुक हुनुहुन्छ भने सम्मानका साथ जिम्मेवारी दिएर सँगै काम गर्न चाहन्छु।'

थापाको यो अभिव्यक्तिलाई कांग्रेसभित्र जारी शक्ति संघर्ष समाधानका लागि व्यक्तिगत समायोजनको रणनीतिका रूपमा हेरिएको छ। देउवा समूहले भने पार्टी संरचनामा ४० प्रतिशत भागबण्डाको माग गर्दै आएको छ। तर, थापाले भागबण्डाभन्दा नेतृत्व स्वीकार गर्ने नेताहरूलाई क्रमशः जिम्मेवारी दिने नीति अपनाएको संकेत गरेका छन्।

यसअघि उनले विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र कोइराला समूह निकट १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।