
काठमाडौं । एभरेष्टम्यान’ उपनामले विश्वभर परिचित विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथा आरोहण गरेका छन् ।
आइतबार बिहान १०ः१२ बजे उनले ३२औं पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएको पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयले जनाएको छ।
५६ वर्षीय शेर्पाले सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । गत वर्ष जेठ १३ गते उनले ३१ औँ पटक आरोहण पूरा गरेका थिए । उनले वि.सं २०८१ को यही सिजनमा २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए ।
उनले आज ३२ औं पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागले जनाएको छ । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी हाई अल्टिच्युड माउन्टेन गाइडको रुपमा कार्यरत छन् ।
त्यसैगरी, माउन्टेन क्विन उपनामले परिचित लाक्पा शेर्पाले आइतबार बिहान साढे ९ बजे ११औं पटक सगरमाथाको आरोहण गरेकी छिन्।
उनले महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकीर्तिमान कायम गरेकी छन्।









Facebook Comments