काठमाडौं ।पूर्णबहादुर खड्कालेनेपाली कांग्रेसअहिले गम्भीर आन्तरिक संकटबाट गुज्रिरहेको बताएका छन्। उनले पार्टीभित्र बढ्दो विभाजन र गुटगत राजनीति रोक्न नेतृत्व तह गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

कर्णाली प्रदेश कार्यसमितिले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले कांग्रेस कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। “पार्टी अहिले इतिहासकै जटिल मोडमा पुगेको छ,” उनले भने, “कांग्रेसलाई फेरि एकताबद्ध र सशक्त बनाउन सबै नेता तथा कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्छ।”

ad

उनले पार्टीभित्र देखिएको असन्तुलन र आपसी अविश्वासले संगठनलाई कमजोर बनाएको उल्लेख गर्दै समयमै सुधार नगरे कांग्रेस थप संकटमा फस्न सक्ने चेतावनी दिए। खड्काले कांग्रेसको राजनीतिक भूमिका कमजोर हुँदा त्यसको असर देशको समग्र राजनीतिक अवस्थामै पर्ने धारणा राखे।

कार्यक्रममा उनले पार्टी सभापतिगगनकुमार थापालाई सम्पूर्ण कांग्रेसको साझा नेतृत्वका रूपमा अघि बढ्न आग्रह गरे। “सभापति सबै पक्षलाई समेटेर अघि बढ्नुपर्छ,” उनले भने, “घेराबन्दी र गुटबन्दीभन्दा माथि उठेर संगठनलाई एकढिक्का बनाउने जिम्मेवारी नेतृत्वको हो।”

खड्काले आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक मानिए पनि त्यसले पार्टी विभाजनको रूप लिन नहुने बताए। उनले कांग्रेसभित्रको मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेस नेताजीवनबहादुर शाहीले पनि पार्टीलाई सुदृढ बनाउन सबै तहका नेता–कार्यकर्ताले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए। उनले संगठनभित्र एकता कायम राख्दै आगामी राजनीतिक चुनौती सामना गर्नुपर्ने आवश्यकता औंल्याए।

कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, संगठन सञ्चालन र सत्ता समीकरणलाई लिएर विभिन्न धारबीच मतभेद बढिरहेका बेला खड्काको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।