काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे सुरु भएको बहसले प्रदेश राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच प्रदेश सरकारको समीकरण, नेतृत्व हेरफेर र मन्त्रिपरिषद् पुनर्गठनबारे अनौपचारिक संवाद तीव्र बनेसँगै राजनीतिक वृत्तमा चासो बढेको हो।
यसैबीच मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौं पुगेर शीर्ष नेताहरूसँग परामर्शमा जुटेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापा सँग छुट्टाछुट्टै भेटवार्ता गरेको स्रोतले जनाएको छ। भेटमा प्रदेश सरकारको भविष्यबारे छिटो राजनीतिक निर्णय गर्न आग्रह गरिएको बताइएको छ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार शाहले बजेटअघि सरकार अस्थिर नबनाउनुपर्ने धारणा राखेका छन्। शीर्ष तहमा भइरहेको छलफलबाट केही दिनमै स्पष्ट निष्कर्ष आउने संकेत उनलाई दिइएको स्रोतको दाबी छ।
एमाले र कांग्रेसबीच विगतमा भएको भनिएको शक्ति बाँडफाँटको सहमतिअनुसार सुदूरपश्चिममा कांग्रेस र कोशीमा एमालेले नेतृत्व गर्ने समझदारी रहेको चर्चा हुँदै आएको छ। तर कांग्रेसभित्र नेतृत्व परिवर्तनपछि उक्त समझदारी पुनरावलोकनमा परेको देखिन्छ। कांग्रेसका केही नेताहरूले कोशी प्रदेश कांग्रेसलाई दिने र सुदूरपश्चिम एमालेले लिने विकल्प अघि सारेको चर्चा पनि राजनीतिक वृत्तमा चलिरहेको छ।
उपसभापति विश्वप्रकाश शर्मा ले प्रदेश सरकारसम्बन्धी छलफलका लागि सक्रिय भूमिका खेलेपछि सत्ता समीकरणबारे नयाँ समीकरणको संकेत देखिएको नेताहरू बताउँछन्। उनले हालै ओलीसँग गरेको छलफलमा प्रदेश सरकारको नेतृत्व पुनर्संरचनाबारे धारणा राखेको स्रोतको भनाइ छ।
यद्यपि एमालेभित्रै सरकार परिवर्तनको विषयमा मत एकरूप छैन। पार्टीका केही नेताहरू तत्काल सत्ता समीकरण फेरबदल गर्न नहुने पक्षमा देखिएका छन्। विशेषगरी बजेटको मुखमा सरकार परिवर्तनले राजनीतिक अस्थिरता बढाउन सक्ने तर्क उनीहरूको छ।
कांग्रेसभित्र पनि मुख्यमन्त्री शाहको भूमिकालाई लिएर असन्तुष्टि कायम रहेको बताइन्छ। केही प्रदेश सांसदले दलको नेतृत्व परिवर्तनमार्फत मुख्यमन्त्री फेर्नुपर्ने धारणा अघि सारेका छन्। तर शीर्ष नेतृत्वबाट स्पष्ट संकेत नआएकाले प्रक्रिया रोकिएको स्रोतले जनाएको छ।
धनगढीमा आयोजित कांग्रेसको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री शाहले आफूलाई हटाउने प्रयास भइरहेको संकेत गर्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले राजनीतिक रूपमा आफू सबै चुनौती सामना गर्न सक्षम रहेको बताएका थिए। त्यसपछि पार्टीभित्रको विवाद केही समय मत्थर भए पनि पछिल्लो सत्ता समीकरणको चर्चाले फेरि तरंग ल्याएको छ।
उता एमालेभित्र पनि सरकार परिवर्तन भए मन्त्री बन्ने आकांक्षासहित आन्तरिक दौडधुप बढेको बताइन्छ। केही नेताहरूले पार्टी अध्यक्ष ओलीसँग प्रत्यक्ष संवाद गर्दै सरकार पुनर्गठनमा आफूलाई अवसर दिन आग्रहसमेत गरेका छन्।
यसबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको सम्भावित नयाँ समीकरणबारे पनि छलफल भइरहेको चर्चा छ। तर हालसम्म कुनै औपचारिक निर्णय भने भइसकेको छैन। राजनीतिक वृत्तमा अबको केही दिनभित्र शीर्ष तहको सहमतिअनुसार सुदूरपश्चिम सरकारको भविष्य तय हुने अनुमान गरिएको छ।








Facebook Comments