काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजका लागि तय गरेको केन्द्रीय सचिवालय बैठक स्थगित गर्दै आगामी सोमबार बस्ने निर्णय गरेको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा आयोजना हुने जनाइएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी का अनुसार आइतबार मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका कारण बैठकको मिति सारिएको हो।

ad

एमालेले सचिवालय बैठकमा पार्टीभित्रको कार्यविभाजन, संगठनात्मक जिम्मेवारी हेरफेर तथा फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा मुख्य एजेन्डाका रूपमा राखेको जनाएको छ। पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन र आगामी रणनीतिबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।

बैठकलाई आगामी दिनको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी सरकार, पार्टी संगठन र प्रदेश तहसम्मको समन्वयलाई प्रभावकारी बनाउने विषयमा नेतृत्व तहमा गहन छलफल हुने अपेक्षा गरिएको छ।