आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले संयुक्त राज्य अमेरिका विरुद्ध ९ विकेटको सहज र सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट शतकीय पारी खेले। उनले ११८ बलको सामना गर्दै १३ चौका र ४ छक्का प्रहार गरे। सानदार प्रदर्शनका लागि भुर्तेल 'प्लेयर अफ दि म्याच' घोषित भए।

ad

त्यस्तै, अर्का ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकीय योगदान दिए। भुर्तेल र शेखबीच पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी भएको थियो। आसिफ आउट भएपछि मैदान छिरेका ईशान पाण्डे २० रनमा अविजित रहे।

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदै अलआउट भएको थियो। अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ रन र शहयान जयसूर्याले ५० रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका स्पिनर दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गरे। उनले ७.३ ओभरमा मात्र २४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ विकेट तथा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिए। दुई अमेरिकी ब्याटर रनआउट भएका थिए।