
काठमाडौं । नेपाल चिनी उद्योग संघले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने जनाएको छ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्वदेशी उद्योगहरूमा पर्याप्त मौज्दात रहेको उल्लेख गर्दै उपभोक्तालाई आत्तिनु नपर्ने स्पष्ट पारेको हो।
संघका अनुसार चालु क्रसिङ सिजनमा सञ्चालन भएका १३ वटा उद्योगबाट एक लाख ९० हजार ८ सय ७० टन चिनी उत्पादन भएको छ। त्यसमध्ये वैशाख २८ गतेसम्म उद्योगहरूसँग अझै एक लाख आठ हजार टन चिनी मौज्दात रहेको जनाइएको छ।
उद्योगहरूसँग रहेको मौज्दात बाहेक बजारमा व्यवसायीहरूसँग करिब २० हजार टन चिनी रहेको तथा चालु आर्थिक वर्षमा आयात गरिएको ६० देखि ७० हजार टन चिनी पनि बजारमै उपलब्ध रहेको संघले जनाएको छ।
खुला सिमानामार्फत समेत चिनी भित्रिइरहेकाले आगामी क्रसिङ सिजनसम्म नेपालमा चिनीको आपूर्ति सहज रहने संघको दाबी छ।
संघले तत्काल चिनीको मूल्य वृद्धि नहुने स्पष्ट पार्दै कारखानास्तरमा मूल्य स्थिर रहने उल्लेख गरेको छ। “स्वदेशमा पर्याप्त चिनी मौज्दात रहेकाले मूल्य बढ्ने अवस्था छैन,” विज्ञप्तिमा भनिएको छ।
भारतको निर्णयलाई लिएर कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै संघले व्यापारी र उपभोक्तालाई अनावश्यक रूपमा चिनी भण्डारण नगर्न पनि आग्रह गरेको छ।








Facebook Comments