काठमाडौं । रुबीकुमारी ठाकुर उपसभामुख निर्वाचित भएको एक महिना पूरा भएको छ। मधेशबाट उदाएकी युवा नेतृका रूपमा उनको उदयलाई धेरैले नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरेका छन्। तर पद सम्हालेको छोटो समयमै उनी आलोचना, राजनीतिक दूरी र सामाजिक सञ्जालको ट्रोलको सामना गरिरहेकी छन्।

श्रमसंस्कृति पार्टी बाट प्रतिनिधिसभामा पुगेकी ठाकुर कुनै स्थापित राजनीतिक पृष्ठभूमिबाट आएकी होइनन्। पार्टीका नेता हर्क साम्पाङ ले उनलाई समानुपातिक सूचीमा समेटेका थिए। त्यसपछि राजनीतिक समीकरणका बीच उनी उपसभामुखजस्तो उच्च पदमा पुगिन्।

ad

तर संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह को पक्षमा उभिएपछि हर्क साम्पाङसँग उनको सम्बन्ध चिसिएको बताइन्छ। साम्पाङले सार्वजनिक रूपमा नै अब रुबीसँग पार्टीको सम्बन्ध नरहेको टिप्पणी गरेका थिए।

उपसभामुख बनेपछि संसद सञ्चालन, नियमावली र प्रक्रियाबारे सिकिरहेको बताउँदै ठाकुरले अनुभवको कमी स्वीकार गरेकी छन्। 'गल्तीबाटै सिक्ने हो,' भन्दै उनले आफू अहिले पनि अध्ययन र अभ्यासकै चरणमा रहेको बताइन्।

हालै सामाजिक सञ्जालमा गरेको एक पोस्टमा ‘च्याट जीपीटी’ बाट लिइएको तथ्यांक प्रयोग गरेपछि उनी आलोचनामा परेकी थिइन्। केही समयपछि उनले उक्त पोस्ट हटाएकी थिइन्। यस घटनाले उनलाई अनुभवी सल्लाहकार वा स्वकीय सचिवको आवश्यकता महसुस गराएको उनी निकट स्रोत बताउँछन्।

सभामुख अनुपस्थित हुँदा संसद बैठक सञ्चालन गर्न नपाएको विषयमा पनि उनी असन्तुष्ट देखिएकी छन्। सांसद गंगालक्ष्मी अवाल ले बैठक सञ्चालन गरेपछि सामाजिक सञ्जालमा ‘उपसभामुख सक्षम नभएकाले अवसर नदिइएको’ टिप्पणीहरू आएका थिए। तर ठाकुरले आफू बैठक सञ्चालन गर्न सक्षम रहेको दाबी गर्दै पालोअनुसार जिम्मेवारी बाँडिएको स्पष्ट पारेकी छन्।

उनले आफूविरुद्ध अनावश्यक रूपमा नकारात्मक प्रचार भइरहेको गुनासोसमेत गरिन्। 'राम्रोभन्दा नराम्रो कुरा बढी फैलाइन्छ,' भन्दै उनले मिडियाले सकारात्मक पक्षलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

आफूलाई आलोचनाभन्दा अवसर आवश्यक रहेको उल्लेख गर्दै ठाकुरले संसद सञ्चालनमार्फत नै आफ्नो क्षमता प्रमाणित गर्ने तयारीमा रहेको बताएकी छन्।