काठमाडौं । सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्थापन लागू गरेको छ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित गत चैत २२ गतेदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेपछि विद्यालयको वार्षिक कार्यघण्टा र पाठ्यभार व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। 

ad

त्यसलाई सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल को अध्यक्षतामा गठित कार्यदलको सुझावका आधारमा नयाँ पाठ्यक्रम व्यवस्थापन स्वीकृत गरिएको हो।

केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार अब विद्यालय सञ्चालन हुने पाँच दिनभित्रै आवश्यक पठनपाठन घण्टा पूरा गर्नुपर्नेछ। यसका लागि विद्यालय समय, अतिरिक्त क्रियाकलाप तथा परियोजनामूलक सिकाइलाई समेत कार्यघण्टामा समेटिने व्यवस्था गरिएको छ।

हालको शिक्षा नियमावलीअनुसार विद्यालयमा वार्षिक कम्तीमा २२० दिन पठनपाठन सञ्चालन हुनुपर्ने व्यवस्था छ। तर सार्वजनिक बिदा, प्रदेश र स्थानीय तहका अतिरिक्त बिदाका कारण आवश्यक कार्यघण्टा पूरा गर्न विद्यालयलाई कठिनाइ हुँदै आएको केन्द्रले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार कक्षा १ देखि ३ सम्म वार्षिक ८३२ कार्यघण्टा, कक्षा ४ देखि ७ सम्म एक हजार २४ कार्यघण्टा तथा कक्षा ९ देखि १२ सम्म न्यूनतम एक हजार १८४ कार्यघण्टा पठनपाठन अनिवार्य गरिएको छ।

विद्यालय सञ्चालन समयभित्र अपुग हुने घण्टा परियोजना कार्य, प्रयोगात्मक अभ्यास र अतिरिक्त सिकाइ गतिविधिबाट पूरा गर्न सकिने व्यवस्था गरिएको छ। केन्द्रका अनुसार दैनिक प्रार्थना र खाजा समय छुट्याउँदा विद्यालयमा प्रभावकारी सिकाइका लागि पाँच घण्टा २५ मिनेट मात्र उपलब्ध हुने भएकाले वैकल्पिक सिकाइ व्यवस्थापन आवश्यक भएको हो।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले दुईदिने बिदाको निर्णयलाई समर्थन गर्दै कार्यान्वयनमा शिक्षकसँग समन्वय आवश्यक रहेको बताए।

यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिव आरबी कटवालले पाठ्यक्रमले तोकेको कार्यघण्टा पूरा गर्न आवश्यक परे केही सार्वजनिक बिदा र वार्षिक परीक्षापछिको समयसमेत उपयोग गर्न सकिने धारणा राखे।