
काठमाडौं । नेपाली कांग्रेसभित्र केन्द्रीय सदस्य मनोनयनलाई लिएर असन्तुष्टि देखिए पनि मनोनीत भएका नेताहरूले भने निर्णयलाई सहज रूपमा स्वीकार गरेका छन्।
गत वैशाख २८ गते पार्टीले विशेष महाधिवेशनबाट बाहिर रहेका १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। निर्णयपछि पार्टीभित्रको इतर समूहले असन्तुष्टि जनाए पनि मनोनीत नेताहरूले विरोध नगरी जिम्मेवारी स्वीकार गरेका हुन्।
मनोनीत हुनेहरूमा महेन्द्र यादव, जीवन परियार, उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू लगायत रहेका छन्। अधिकांश नेता पूर्वसंस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा निकटका मानिन्छन् भने केही नेता डा. शेखर कोइराला र शशांक कोइराला पक्षसँग जोडिएका छन्।
पूर्वमन्त्री रमेश रिजालले पार्टीले प्रस्ताव गरेपछि आफूले स्वाभाविक रूपमा स्वीकार गरेको बताए। त्यस्तै, शेखर समूहसँग निकट मानिने डा. गोविन्दराज पोखरेलले पनि पार्टी एकताका लागि निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।
यद्यपि, डा. शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काले मनोनयन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले निर्णयले पार्टीको बृहत्तर एकतामा असर परेको टिप्पणी गरेका थिए।
तर मनोनीत भएका नेताहरू भने सार्वजनिक रूपमा विरोधमा उत्रिएका छैनन्। राजीव ढुंगाना लगायत नेताहरूले बधाई स्वीकार गर्दै पार्टीमा सक्रिय रहने संकेत दिएका छन्।
कांग्रेसभित्र महाधिवेशनको तयारी तीव्र भइरहेका बेला मनोनयन विवादलाई अब संवाद र संगठनात्मक प्रक्रियाबाट समाधान गर्नुपर्ने आवाजसमेत पार्टीभित्र उठ्न थालेको छ।










Facebook Comments