काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र तल्लो तहमा सक्रिय रहेका सदस्यहरूका समस्या सुन्न र समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गर्न लागिएको बताएका छन्।

पोखरामा नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाको उद्घाटन गर्दै उनले सदस्यहरूलाई केन्द्रसँग प्रत्यक्ष जोड्ने उद्देश्यले सदस्यता प्रणाली अद्यावधिक गर्न लागिएको स्पष्ट पारे।

ad

उनका अनुसार यस प्रक्रियाले पार्टी संगठनलाई आम सदस्यको भावना र आवश्यकताअनुसार अघि बढाउन मद्दत गर्नेछ। पार्टीलाई अझ व्यवस्थित, एकताबद्ध र प्रभावकारी बनाउन सबै तहका सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारी आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो।

थापाले राज्य र नागरिकबीचको सेतुका रूपमा पार्टीले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिहरूले पार्टीसँग समन्वय गर्दै जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए। साथै सरकार संविधान, विधि र पद्धतिअनुसार चल्नुपर्ने र त्यसको पालना नभए कांग्रेसले खबरदारी गर्ने बताए।

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले समाज रूपान्तरणका लागि सबै राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे। उनले संघीय लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सरकारलाई सहयोग गर्ने र लोकतान्त्रिक मूल्य–मान्यताको पालनामा जोड दिने बताए।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वमा भएका कामका कारण कुनै पनि पार्टी सदस्यले शिर निहुराउन नपर्ने दाबी गर्दै पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध राख्नुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई तल्लो तहबाटै सुदृढ बनाउने आवश्यकता रहेको बताए भने प्रवक्ता देवराज चालिसे ले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक मूल्य र आदर्शलाई आत्मसात् गर्न सके कांग्रेस थप बलियो बन्ने धारणा राखे।

भेलामा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि तथा अन्य पदाधिकारीसहित करिब ३८० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ।