काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन ‘अनन्त’ले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेको विषयमा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभामा बिहीबार दलीय आधारमा बोल्दै पुनले संसदीय व्यवस्थामा संसदको नेतृत्व प्रधानमन्त्रीले गर्ने भएकाले सदनप्रति उत्तरदायी बन्नुपर्ने बताए।

ad

उनले संसदलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउने दायित्व प्रधानमन्त्रीकै काँधमा हुने उल्लेख गर्दै आफ्नै सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रधानमन्त्री अनुपस्थित रहनु राम्रो संकेत नभएको टिप्पणी गरे।

पुनले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्री सदनमा पूर्ण रूपमा सहभागी नभएको प्रसंग उल्लेख गर्दै धन्यवाद प्रस्ताव राखेपछि पनि छलफलमा उपस्थित नहुनु अस्वाभाविक भएको बताए।

उनको भनाइ थियो, 'नीति तथा कार्यक्रम सरकारकै मार्गचित्र हो। त्यसको बचाउ गर्ने, आवश्यकताबारे स्पष्ट पार्ने र प्रतिपक्षीका प्रश्नको जवाफ दिने मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै हुन्छ।'

उनले लोकतन्त्रको मूल आधार संवाद भएको उल्लेख गर्दै संसद जनतासँग प्रधानमन्त्रीले प्रत्यक्ष संवाद गर्ने प्रमुख थलो भएको धारणा राखे। सबै सांसदको कुरा नसुने पनि कम्तीमा प्रतिपक्षी दलका नेता र केही सांसदका धारणा सुनेर प्रधानमन्त्रीले आफ्नो कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्ने पुनको भनाइ थियो।

साथै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रधानमन्त्रीले स्वामित्व ग्रहण गर्दै आगामी एक वर्षको स्पष्ट कार्यदिशा संसद र जनतासामु राख्ने अपेक्षा पनि व्यक्त गरे।