काठमाडाैं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि संसदमै व्यंग्य गरेका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलका क्रममा प्रधानमन्त्री अनुपस्थित रहेको विषय उठाउँदै राईले रास्वपाको भूमिकामाथि प्रश्न गरेका हुन्।

ad

उनले रास्वपातर्फ लक्षित गर्दै भने, 'प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्नु तपाईंहरूको कमजोरी हो। जे जस्तो तर्क गरे पनि प्रधानमन्त्रीले तपाईंहरूको कुरा टेर्नुभएन भन्ने स्पष्ट देखियो।'

राईले संसदप्रति उत्तरदायी बनाउने जिम्मेवारी सत्तारूढ दलकै हुने उल्लेख गर्दै रास्वपालाई प्रधानमन्त्रीलाई संसदीय मूल्य र मर्यादाप्रति सचेत गराउन सुझाव दिए।

उनको भनाइ थियो, 'लोकतन्त्र र जनमतको कुरा गर्ने पार्टीले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्नु निरिहता होइन भने के हो? प्रधानमन्त्री सिंहदरबारमै हुनुहुन्थ्यो, तर यहाँ आउनुभएन।'

त्यसैगरी उनले प्रधानमन्त्री र अर्थमन्त्री दुवै छलफलमा अनुपस्थित हुनु जनप्रतिनिधिप्रतिको बेवास्ता भएको टिप्पणी गरे। 'जनताबाट निर्वाचित प्रतिनिधिलाई यसरी हेप्ने प्रवृत्तिको परिणाम राम्रो हुँदैन,' उनले चेतावनी दिए।

राईले नीति तथा कार्यक्रमप्रति पनि असन्तुष्टि व्यक्त गरे। चुनावताका 'नयाँ राजनीति'को नारा दिएको रास्वपाले ल्याएको कार्यक्रम भने पुरानै दस्तावेजको पुनरावृत्ति जस्तो भएको उनको आरोप थियो।

उनले कार्यक्रममा गाँजा खेती, विदेशबाट पर्यटक तथा श्रमिक भित्र्याउने योजना र तमोर जलाशययुक्त आयोजना जस्ता विषय नसमेटिएको भन्दै आलोचना गरे।