काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध मुद्दा दर्ता हुँदा उनीसँग जोडिएका केही व्यक्तिहरू भने अनुसन्धानको दायराबाहिरै रहेको भन्दै प्रश्न उठेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार अधिकारीसहित तीनजनाविरुद्ध संगठित अपराध, हुन्डी कारोबार र आपराधिक षड्यन्त्रलगायत आरोपमा मुद्दा दर्ता गरेको थियो। तर अनुसन्धानमा नाम जोडिएका ठेकेदार, बिचौलिया, कर्मचारी र अन्य व्यक्तिमाथि तत्काल मुद्दा नचलाइएको हो।

ad

प्रहरीले 'थप प्रमाण खुलेमा छुट्टै अनुसन्धान अघि बढाइने' उल्लेख गर्दै केही व्यक्तिलाई हालका लागि उन्मुक्ति दिएको छ। तीमध्ये ठेकेदार नवीनराज बस्नेत, रवि सिंघल, क्यान कर्मचारी चाँदमाला श्रेष्ठ, पत्रकार प्रमोद सेढाईं तथा भारतीय तान्त्रिक भनिएका सरया किन्नेरा (जय जगदम्बे) लगायत रहेका छन्।

अनुसन्धानका क्रममा अधिकारीको मोबाइलबाट प्राप्त डिजिटल फरेन्सिक रिपोर्टमा केही व्यक्तिबीच मुद्दा मिलाउने, ‘जेनजी’ समूहसँग पहुँच मिलाउने, अख्तियारमा प्रभाव पार्ने र रकम लेनदेनसम्बन्धी संवाद भेटिएको दाबी गरिएको छ। 

पाँच लाख रुपैयाँ लेनदेनदेखि अख्तियार प्रमुखलाई धम्की दिने योजना र तान्त्रिक प्रयोगसम्मका विवरण अनुसन्धानमा उल्लेख भए पनि ती आधारमा थप अभियोजन भने गरिएको छैन।

प्रहरी स्रोतका अनुसार अधिकारीमाथिको भ्रष्टाचार मुद्दा सामसुम पार्ने प्रयास असफल भएपछि अख्तियार प्रमुखलाई धम्की दिने, उग्रवादी संगठनको नाम प्रयोग गर्ने र विदेशबाट भिडियो सन्देशमार्फत दबाब सिर्जना गर्ने गतिविधि भएको देखिएको छ।

यस प्रकरणमा काभ्रेका प्रकाश पाठकविरुद्ध भने आपराधिक षड्यन्त्र, साइबर कसुर, हुन्डी कारोबार र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अधिकारी र अर्का प्रतिवादी ताराप्रसाद खरेलविरुद्ध पनि विभिन्न संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ।

तर अनुसन्धानमा नाम आएका अन्य व्यक्तिलाई तत्काल मुद्दा नचलाइएको विषयले प्रहरी र सरकारी वकिल कार्यालयको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।