काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग हुने उच्चस्तरीय वार्ताका लागि बुधबार चीन प्रस्थान गरेका छन्। भ्रमणको मुख्य एजेन्डा इरान संकट, ऊर्जा सुरक्षा र होर्मुज जलडमरूको अवस्थालाई मानिएको छ।

वासिङ्टनबाट प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको दबाब कायम राख्न चीनको सहयोग अनिवार्य नरहेको बताएका छन्। 'शान्तिपूर्ण वा अन्य कुनै माध्यमबाट भए पनि हामी सफल हुन्छौं,' उनले भने।

ad

हाल होर्मुज जलडमरू क्षेत्रमा तनाव चर्किँदा विश्व ऊर्जा आपूर्ति प्रभावित बनेको छ। विश्वको करिब पाँचौं हिस्सा तेल यही मार्गबाट ओसारपसार हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा चिन्ता बढेको छ।

अमेरिकाले इरानलाई आणविक कार्यक्रम रोक्न र जलडमरूमाथिको नियन्त्रण कमजोर बनाउन दबाब दिइरहेको छ। तर इरान ले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, अमेरिकी नाकाबन्दी अन्त्य र क्षेत्रीय युद्ध रोक्नुपर्ने अडान राख्दै आएको छ।

यसबीच इरानले इराक र पाकिस्तानसँग ऊर्जा ढुवानीसम्बन्धी नयाँ समझदारी अघि बढाएको बताइएको छ। बुधबार इराकी तेल बोकेको चिनियाँ सुपरट्यांकरले होर्मुज मार्ग प्रयोग गर्ने तयारी गरेको विवरण सार्वजनिक भएको छ।

युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२६ मा विश्व तेल आपूर्ति दैनिक ३९ लाख ब्यारेलले घट्न सक्ने प्रक्षेपण गरेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य पनि बढेर प्रति ब्यारेल करिब १०७ डलर पुगेको छ।

पेन्टागन का अनुसार इरानसम्बन्धी सैन्य गतिविधिमा अमेरिकाले हालसम्म २९ अर्ब डलर खर्च गरिसकेको छ। नोभेम्बरको मध्यावधि निर्वाचन नजिकिँदै गर्दा बढ्दो मुद्रास्फीति र जीवनयापनको लागतले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गरेको छ।