काठमाडाैं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीभित्र बृहत् एकता र आन्तरिक लोकतन्त्र सुदृढ गर्न पूर्ण महासमितिको बैठक तत्काल बोलाउनुपर्ने निष्कर्ष निकालेको छ।

बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय भेलापछि नेता प्रकाशशरण महतले १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सर्वस्वीकार्य बनाउन सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने साझा संयन्त्र आवश्यक रहेको बताए।

ad

भेलाले राष्ट्रियसभामा दलको नेता परिवर्तनसम्बन्धी निर्णयको प्रक्रिया र औचित्य स्पष्ट पार्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ। प्रतिशोधको भावनाबाट प्रेरित निर्णयहरूले पार्टीभित्रको विश्वास र सहकार्य कमजोर बनाउन सक्ने भन्दै त्यस्ता प्रवृत्तिबाट टाढा रहन पनि आग्रह गरिएको छ।

त्यस्तै भ्रातृ तथा शुभेच्छुक संस्थालाई तदर्थवादमा राख्ने र कार्यसमिति विघटन गर्ने अभ्यास अन्त्य गरी नियमित महाधिवेशनमार्फत वैधानिक नेतृत्व चयन गर्नुपर्ने माग पनि भेलाले गरेको छ।

भेलाले पछिल्ला निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको एउटा मुख्य कारण निर्वाचनको मुखमा गरिएको विशेष महाधिवेशन र त्यसले सिर्जना गरेको विभाजित मनस्थिति रहेको निष्कर्षसमेत निकालेको छ।