
नेपाल बार एशोसिएसनले प्रतिनिधिसभामा रास्वपाका उपनेता गणेश पराजुलीले कायममुकायम प्रधानन्यायाधीश सपना मल्लप्रति दिएको अभिव्यक्तिलाई 'निरंकुशताको बीजारोपण' भन्दै आपत्ति जनाएको छ।
बारले बुधबार सभामुख डोलप्रसाद अर्याल लाई ध्यानाकर्षण पत्र पठाउँदै संसद्मा गरिएको टिप्पणीले दुई तिहाइ सरकारविरुद्ध कसैले बोल्न नपाउने सन्देश दिन खोजिएको भन्दै चिन्ता व्यक्त गरेको हो।
बार महासचिव केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा न्यायपालिका र न्यायाधीशको कार्यसम्पादनमा असर पर्ने खालका अभिव्यक्ति संसद्मा हुन नदिन सभामुखबाट आवश्यक रूलिङको माग गरिएको छ। संविधानको धारा १०५ ले संसद्मा न्यायिक विषयमा बहसको सीमाबारे स्पष्ट व्यवस्था गरेको स्मरण पनि बारले गराएको छ।
बारले यसअघि राष्ट्रिय पञ्चायतसम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतबाट स्थापित नजिरसमेत उल्लेख गर्दै संसद्को अभिव्यक्ति मर्यादित हुनुपर्ने धारणा राखेको छ।
रास्वपा सांसद पराजुलीले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कामु प्रधानन्यायाधीश सपना मल्लले 'सडकबाट दुई तिहाइ सरकारलाई लल्कारेको' आरोप लगाएका थिए। उनले सरकारलाई नटर्न चेतावनीसमेत दिएका थिए।









Facebook Comments