
काठमाडाैं । विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहण औपचारिक रूपमा सुरु भएको छ। बुधबार बिहान डोरी टाँग्ने शेर्पा टोली चुचुरोमा पुगेपछि आरोहण मार्ग खुला भएको हो। मिङतेम्बा शेर्पाको नेतृत्वमा १४ सदस्यीय टोली बिहान १०ः२५ बजे चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभागअन्तर्गतको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमका अनुसार कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र व्यवस्थापकीय चुनौतीबीच आधार शिविरदेखि चुचुरोसम्मको मार्ग सफलतापूर्वक निर्माण गरिएको हो। पहिलो सफल आरोहणसँगै अब अन्य टोलीका लागि पनि सगरमाथा आरोहण खुला भएको छ।
यस वर्ष ५५ देशका ४९२ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन्। तीमध्ये १०५ महिला र ३८७ पुरुष छन्। विभागका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै आरोहण अनुमति हो। सबैभन्दा धेरै १०९ जना चिनियाँ आरोहीले अनुमति लिएका छन् भने अमेरिकाबाट ७६ र भारतबाट ६१ जना आरोहण तयारीमा छन्। सरकारले आरोहण रोयल्टीबाट एक अर्ब आठ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
खुम्बु आइसफल क्षेत्रमा बाटो निर्माणमा कठिनाइका कारण प्रारम्भिक चरणमा आरोहण अनिश्चित बने पनि शेर्पा टोलीले जोखिम मोलेर मार्ग निर्माण सम्पन्न गरेको हो। विभागले आइसफल डाक्टर र पथप्रदर्शक टोलीलाई धन्यवाद दिएको छ।
यसैबीच, चालु वसन्त याममा हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन नेपाली गाइड र दुई विदेशी आरोही रहेका छन्। पर्यटन विभागका अनुसार सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुरा गेल्जेन शेर्पाको विभिन्न आरोहण क्षेत्रमा ज्यान गएको हो। साथै मकालु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी चेक गणतन्त्रका डेभिड रौविकेन र अमेरिकाकी जोहानेस सेलीको मृत्यु भएको विभागले जनाएको छ।










Facebook Comments