
काठमाडाैं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सिंहदरबार जलिरहेको तथा देश संकटमा रहेका बेला सेना मौन बसेको तर सुकुम्बासी बस्तीमा भने सेना परिचालन गरिएको विषयलाई लिएर प्रश्न उठाएका छन् ।
उनले उक्त प्रश्नको जवाफ सरकारको नीति तथा कार्यक्रममा नआएको टिप्पणी पनि गरे। बादलले नीति तथा कार्यक्रम पूर्ण रूपमा अस्वीकार गर्नुपर्ने अवस्था नभए पनि त्यसमा संशोधन र पुनरावलोकन आवश्यक रहेको बताए।
संसद् सदस्यहरूले आफ्नो पार्टीको धारणा र व्यक्तिगत रूपमा महत्त्वपूर्ण लागेको विषय सदनमा राख्न पाउने अधिकार रहेको उनको तर्क छ।
उनका अनुसार संसद्मा व्यक्त गरिएका विचारप्रति प्रतिक्रिया आउनु स्वाभाविक प्रक्रिया हो। उनले आफूले विशेष रूपमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठाएको स्पष्ट पारे।
उनले संसद्मा राजनीतिक विषय उठाउनु स्वाभाविक भएको बताउँदै त्यसलाई “छुच्चोपन” भन्न नमिल्ने धारणा राखे। संसद्मा व्यक्त गरिएका विषय हटाउने वा नराख्ने निर्णय सभामुखको अधिकार क्षेत्रभित्र पर्ने उनको भनाइ थियो।
आफ्नो भूमिकाका कारण नेकपा एमाले कमजोर नभई अझ सशक्त हुने दाबी गरेका छन्। प्रतिनिधिसभामा दिएको अभिव्यक्तिबारे संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वका कारण पार्टी अहिलेको अवस्थामा पुगेको र अब बादलकै कारण एमाले थप कमजोर बन्ने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले आफूले पार्टीलाई माथि उठाउने जिकिर गरे।










Facebook Comments