
नेपालको सेयर बजारमा ऋण लिएर लगानी गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको देखिएको छ। विशेषगरी साना लगानीकर्ताहरूले सेयर धितोमा कर्जा लिएर बजार प्रवेश गर्ने क्रम बढेपछि मार्जिन कर्जाको आकार ऐतिहासिक उचाइमा पुगेको छ।
नेपाल राष्ट्र बैंक को चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा ४७.२ प्रतिशतले वृद्धि भएको छ। गत असार मसान्तसम्म ८ अर्ब १७ करोड रुपैयाँ रहेको यस्तो कर्जा नौ महिनामै बढेर १२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा मात्रै साना लगानीकर्तातर्फ ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी थप कर्जा प्रवाह भएको देखिन्छ।
कुल सेयर धितो कर्जा भने चैत मसान्तसम्म १ खर्ब ५९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। गत असारमा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ थियो। यसरी नौ महिनामा मात्रै करिब १८ अर्ब ७८ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
साना लगानीकर्ताको सहभागिता बढे पनि बजारमा ठूला लगानीकर्ताकै प्रभाव कायम रहेको देखिन्छ। १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा मात्रै १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ, जुन कुल मार्जिन कर्जाको करिब ६९ प्रतिशत हो। यो वर्गको कर्जा पनि नौ महिनामा ११ प्रतिशतभन्दा बढीले बढेको छ।
त्यस्तै ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १४ प्रतिशतले वृद्धि भएर १८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ९.५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा सेयर धितो कर्जा ३७.८ प्रतिशतले बढेको थियो। चालु वर्षमा वृद्धिदर १३.४ प्रतिशतमा सीमित देखिए पनि कुल कर्जाको आकार भने अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो।
हाल बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीहरूको १८० दिनको औसत मूल्य वा बजार मूल्यमा जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन्।
यद्यपि कर्जा प्रवाह उल्लेख्य रूपमा बढे पनि सेयर बजार परिसूचकमा अपेक्षित सुधार देखिएको छैन। लगानीकर्ताहरूका अनुसार राजनीतिक अनिश्चितता, आर्थिक सुस्तता र बजारप्रतिको मनोवैज्ञानिक दबाबका कारण बजार अझै पूर्ण रूपमा उत्साहित बन्न सकेको छैन।










Facebook Comments