
काठमाडाैं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ। अब पार्टीका सदस्यहरूले मोबाइल वा कम्प्युटरमार्फत अनलाइनबाटै आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्न सक्ने भएका छन्।
पार्टीका महामन्त्रीप्रदीप पौडेलसंयोजक रहेको सदस्यता व्यवस्थापन समितिले नयाँ व्यवस्था लागू गरेको हो। पार्टी केन्द्रीय कार्यालयका अनुसार सदस्यहरूले उपलब्ध गराइएको लिंकमार्फत फाराम भरेपछि विवरण स्वतः सम्बन्धित वडा सभापतिको प्रणालीमा पुग्नेछ।
त्यसपछि वडा सभापतिले आवेदनदर्ताको मोबाइल नम्बरमा पठाइएको ओटीपीमार्फत प्रमाणीकरण गरेपछि सदस्यताको अद्यावधिक प्रक्रिया पूरा हुनेछ। कांग्रेसले देशभरका सबै वडामा यो प्रक्रिया सञ्चालनमा रहेको जनाएको छ।
यसैबीच सदस्यता अद्यावधिक प्रक्रियामा देखिने समस्या समाधान र सहजीकरणका लागि कांग्रेसले ‘एआई साथी’ नामक कृत्रिम बुद्धिमत्तामा आधारित कलसेन्टर सेवा पनि सुरु गरेको छ।
पार्टीका अनुसार ९७०१२५५५५५ नम्बरमा फोन गरेर ‘एआई साथी’सँग प्रत्यक्ष संवाद गर्न सकिनेछ। उक्त प्रणालीले सदस्यता अद्यावधिकसँग सम्बन्धित समस्या, जिज्ञासा र सुझावहरू सातै दिन, चौबीसै घण्टा संकलन तथा समाधान गर्ने दाबी गरिएको छ।
कांग्रेसले केन्द्रीय कार्यालयस्थित डिजिटल सपोर्ट टिमलाई पनि सक्रिय बनाएको छ। आवश्यक सहयोग र प्राविधिक सहजीकरणका लागि ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमार्फत सम्पर्क गर्न सकिने पार्टीले जनाएको छ।










Facebook Comments