काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमिति विस्तार प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। विशेष महाधिवेशनपछि गरिएको कार्यसमिति विस्तारले पार्टीको 'बृहत् र सम्पूर्ण एकता' कमजोर बनाउने खतरा रहेको भन्दै उनले नेतृत्वलाई गम्भीर बन्न आग्रह गरेका छन्।

खड्काले मंगलबार सार्वजनिक गरेको धारणा अनुसार पछिल्ला केही सातामा उनले नेता गगन थापा र विश्वप्रकाश शर्मा सँग छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका थिए। छलफलका क्रममा उनले देशको राष्ट्रियता, लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थामाथि चुनौती बढिरहेको भन्दै नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा उभिएको बताएका छन्।

ad

उनले पपुलिज्मको नाममा लोकतन्त्रका आधारभूत मान्यता र संवैधानिक प्रणालीमाथि निरन्तर प्रहार भइरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कांग्रेसभित्र पूर्ण एकता आवश्यक रहेको धारणा राखेका छन्। खड्काका अनुसार पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी गगन थापा र विश्वप्रकाश शर्माको काँधमा रहेको छ।

उनले वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमिति मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको स्पष्ट पारेका छन्। उक्त निर्णयले पार्टी एकताको उद्देश्यमा ठेस पुगेको उनको भनाइ छ।

खड्काले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको स्मरण गराउँदै संगठनात्मक र भावनात्मक एकतामार्फत मात्रै जनविश्वास पुनः स्थापित गर्न सकिने बताएका छन्। फागुन २१ गते सम्पन्न आमनिर्वाचनको परिणामले पनि पार्टीलाई गम्भीर समीक्षा गर्न बाध्य बनाएको उल्लेख गर्दै उनले नयाँ सोच, साझा दृष्टिकोण र पूर्ण एकतासहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

अन्त्यमा उनले पार्टी नेतृत्वले अझै पनि सामूहिक भावना र साझा विचारका आधारमा कांग्रेसलाई एकताबद्ध बनाउने दिशामा कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।