काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार फेसबुकमा मात्र भेटिने तर संसद र जनतासँगको संवादमा हराएको बताएका छन् ।  

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै  उनले सुकुम्बासी र गरिब बस्तीमाथि क्रुरतापूर्वक डोजर चलाएर मानवीय संवेदनालाई कुल्चिएको भन्दै  सरकार अभिभावक नभई यमदूत जस्तो बनेको आरोप लगाए । सुशासनको नारा दिए पनि सरकारले आफ्नै मन्त्रीमाथि लागेका संगीन आरोपहरूको छानबिन नगरेको पनि उनले बताए ।

ad

अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट खेद्नेले आफ्नै गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे किन छानबिन नगरेको भनी उनले प्रश्न समेत गरे । प्रधानमन्त्रीले सदनमा आफ्नै सरकारको नीति तथा कार्यक्रम पेस भइरहँदा बीचैमा उठेर हिँडेको प्रसङ्गलाई उनले यो अहंकार र अमर्यादित व्यवहार भएको पनि बताए  ।