
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले पार्टीको केन्द्रीय कार्यसमितिमा १९ जना नेताहरूलाई मनोनयन गरेका छन्।
सोमबार गरिएको मनोनयनमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला निकट नेताहरूलाई समेत समेटिएको छ। पार्टीभित्र देखिएको गुटगत दूरी कम गर्ने प्रयासस्वरूप थापाले विभिन्न धारका नेताहरूलाई कार्यसमितिमा ल्याएको विश्लेषण गरिएको छ।
कांग्रेस विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० अनुसार महाधिवेशन प्रतिनिधिमध्येबाट उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जनाइएको छ।
मनोनीत हुनेहरूमा सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, उमेश श्रेष्ठ, रमेश रिजाल, जीवन परियार, महेन्द्र यादव लगायत रहेका छन्। त्यस्तै डा. चन्द्रकान्त भण्डारी, गोविन्दराज पोखरेल, आङ्गेलु शेर्पा, सुशिला मिश्र भट्ट, जीवन राना लगायतका नेताहरू पनि कार्यसमितिमा समेटिएका छन्।
पार्टीभित्रको आन्तरिक विवाद समाधानको स्पष्ट संकेत नदेखिएको अवस्थामा थापाले विभिन्न पक्षलाई समेटेर सहकार्यको सन्देश दिन खोजेको नेताहरूको बुझाइ छ। नयाँ मनोनयनसँगै कांग्रेसभित्र शक्ति सन्तुलन र आगामी रणनीतिबारे थप राजनीतिक चर्चा सुरु भएको छ।
१. श्री महेन्द्र यादव-धनुषा
२. श्री जीवन परियार-कास्की
३. श्री उमेश श्रेष्ठ-चितवन
४. श्री रमेश रिजाल-पर्सा
५. श्री सुजाता कोइराला-मोरङ
६. श्री दिलेन्द्रप्रसाद बडू-दार्चुला
७. डा. चन्द्रकान्त भण्डारी-गुल्मी
८. श्री अजयकुमार चौरसिया-पर्सा
९. श्री लक्ष्मी परियार-उदयपुर
१०. श्री आङ्गेलु शेर्पा-सोलुखुम्बु
११. श्री दिनेशकुमार यादव-सप्तरी
१२. श्री राजीव कोइराला-सुनसरी
१३. श्री राजीव ढुंगाना-सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान
१५. श्री सुशिला मिश्र भट्ट-कैलाली
१६. श्री नागिना यादव-महोत्तरी
१७. श्री दिनेश कोइराला-चितवन
१८. डा. जीवन राना-कैलाली
१९. श्री सीता थपलिया (उर्मिला)-धादिङ










Facebook Comments