
काठमाडौं । सरकारले नेपालमा ठूला विदेशी लगानी भित्र्याउने उद्देश्यसहित ‘नेपाल लगानी भिसा’ व्यवस्था लागू गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तोकिएको सीमाभन्दा माथि लगानी गर्ने विदेशी लगानीकर्तालाई विशेष लगानी भिसा उपलब्ध गराइने जानकारी दिए।
सरकारले विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ। यस कदमले लगानी प्रक्रिया सहज बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रमा पनि सरकारले महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले आयोजना प्रभावित स्थानीयलाई मुआब्जासँगै शेयर लगानीको विकल्प दिने व्यवस्था गर्ने भएको छ। साथै विद्युत् उत्पादन, प्रसारण, वितरण र ऊर्जा व्यापारमा निजी क्षेत्रको सहभागिता थप विस्तार गरिने जनाइएको छ।
ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक विद्युत् खपत बढाउने तथा अन्तरदेशीय ऊर्जा व्यापार सम्झौतामार्फत दीर्घकालीन लगानी भित्र्याउने रणनीति पनि सरकारले अघि सारेको छ।
पर्यटन तथा हवाई सेवातर्फ सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा इ–गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाउने योजना सार्वजनिक गरेको छ। पर्यटक भिसा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने घोषणा पनि गरिएको छ।
यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भित्र्याउन कूटनीतिक पहल गरिने सरकारले जनाएको छ। हाल यी दुवै विमानस्थल अपेक्षाअनुसार पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।










Facebook Comments