काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले सुशासनविपरीत काम गरेको प्रमाण भेटिए कानुनी निकायभन्दा अघि नै पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्।

सुर्खेतमा आयोजित पार्टीको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले जनप्रतिनिधिको आचरणप्रति कांग्रेस गम्भीर रहेको स्पष्ट पारे। उनले स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूलाई पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशनसमेत दिए।

ad

'यदि कसैले अधिकारको दुरुपयोग गरेको वा सुशासनविपरीत काम गरेको प्रमाणसहित जानकारी आउँछ भने पार्टी चुप लागेर बस्दैन,' उनले भने, 'आवश्यक परे सम्बन्धित निकाय सक्रिय हुनुअघि नै कांग्रेसले आफ्नै तहबाट निर्णय गर्छ।'

कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको थियो। कार्यक्रममा पार्टीका स्थानीय तहका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले देशभर तीन सयभन्दा बढी पालिकाको नेतृत्व जितेको थियो। पछिल्लो समय स्थानीय तहमा पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठिरहेका बेला थापाको अभिव्यक्तिलाई पार्टीभित्र अनुशासन कडाइ गर्ने संकेतका रूपमा हेरिएको छ।