काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बैठक कक्षबाट बाहिरिएका छन्।

राष्ट्रपति पौडेलले करिब एक घण्टा १५ मिनेट लामो सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर प्रधानमन्त्री शाह भने सम्बोधन सुरु भएको करिब आधा घण्टापछि संसद् भवनबाट बाहिरिएको बताइएको छ।

ad

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री शाह सुरुमा सांसद स्वर्णिम वाग्ले सँगै बसेका थिए। 'उहाँ केही समयसम्म बैठकमै हुनुहुन्थ्यो, त्यसपछि बाहिरिनुभयो,' ती सांसदले बताए।

प्रधानमन्त्री शाहको बीचमै बाहिरिनुलाई संसद्‌भित्र अर्थपूर्ण रूपमा हेरिएको छ। सामान्यतया राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सरकार प्रमुखसहित शीर्ष पदाधिकारीहरू बैठकमा अन्त्यसम्म उपस्थित रहने अभ्यास छ।

यद्यपि संसद् नियमावलीअनुसार प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष औपचारिक रूपमा पेश गर्ने व्यवस्था रहेको छ। सोहीअनुसार शाहले बैठक सुरु हुनुअघि नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पेश गरेका थिए।