
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रोपटक पनि अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठक बहिष्कार गरेको छ ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।
समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव बैठकमा छन् ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरे । आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए मात्र बैठकको जानकारी दिन भनिएको पनि बताए ।










Facebook Comments