काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिस संवैधानिक प्रक्रिया र कानुनी व्यवस्थाअनुसार नै भएको बताएका छन्। उनले संवैधानिक परिषद्को निर्णयलाई अनावश्यक विवादको विषय नबनाउन आग्रह गरेका छन्।

ललितपुरमा आयोजित पार्टीका सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको समापनका क्रममा आइतबार बोल्दै लामिछानेले परिषद्ले योग्य व्यक्तिमध्येबाट बहुमतका आधारमा नाम सिफारिस गरेको उल्लेख गरे। उनका अनुसार परिषद्को निर्णयलाई असंवैधानिक भन्नु उचित नहुने बताए।

ad

प्रधानन्यायाधीश नियुक्तिमा परम्परा तोडिएको भन्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले पुरानो अभ्यासलाई निरन्तरता दिएको भए राजनीतिक भागबण्डाको अवस्था दोहोरिने तर्क गरे। उनले आफ्नो पार्टी भागबण्डा र शक्ति बाँडफाँडको राजनीतिबाट टाढा रहने दाबी पनि गरे।

कार्यक्रममा उनले पार्टीभित्र व्यक्तिगत योगदानको आधारमा अवसर खोज्ने प्रवृत्तिबाट टाढा रहन नेता तथा सांसदहरूलाई आग्रह गरे। आगामी पाँच वर्ष परिणाममुखी काम गर्ने समय भएको उल्लेख गर्दै उनले जनताले दिएको विश्वासलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताए।

लामिछानेले अघिल्लो पुस्ताको राजनीतिक संघर्षकै आधारमा अहिलेको परिवर्तन सम्भव भएको उल्लेख गर्दै अभिव्यक्ति र व्यवहारमा संयम अपनाउन पार्टी पंक्तिलाई सुझाव दिए।

त्यस्तै, पार्टीभित्र गुटबन्दी र व्यक्तिकेन्द्रित राजनीति नगर्न चेतावनी दिँदै उनले रास्वपामा ‘फलानोको समूह’ भन्ने संस्कृति स्वीकार्य नहुने स्पष्ट पारे। सञ्चारमाध्यममा आउने विभाजनसम्बन्धी चर्चालाई अस्वीकार गर्दै उनले पार्टी एकताबद्ध रहेको दाबी गरे।

फरक प्रसंगमा उनले सरकारले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेको जानकारी दिँदै कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था बिना विस्थापित नगरिने प्रतिबद्धता व्यक्त गरे।