काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुने भएको छ। अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।
संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिबाट संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।
संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई निर्धारित समयभन्दा अघि नै उपस्थित हुन संसद् सचिवालयले आग्रह गरेको छ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावलीसँग सम्बन्धित विषय, बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव तथा विभिन्न अध्यादेश अनुमोदनका लागि पेस गरिने संसद् सचिवालयले जनाएको छ। सरकारले जारी गरेका सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्ति तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित आठ वटा अध्यादेश संसद्मा प्रस्तुत हुनेछन्।
राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू टेबुल गरिने कार्यसूची तय गरिएको छ।










Facebook Comments