विराटनगरनेपाली कांग्रेसको संगठन सुदृढीकरण र आधुनिकिकरणको अभियान अन्तर्गत मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ११ बाट डिजिटल प्रविधिको प्रयोग गरी क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ। यसै क्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले प्रविधिको प्रयोग गर्दै आफ्नो क्रियाशील सदस्यता डिजिटल माध्यमबाट सफलतापूर्वक अध्यावधिक गरी 'कांग्रेस डिजिटल आइडी' प्राप्त गरेको जानकारी दिइन् । आफ्नो थातथलो र निर्वाचन क्षेत्रबाटै प्रविधिमैत्री अभियानमा सहभागी भई सदस्यता नवीकरण गरेपछि उनले यसलाई पार्टीको आन्तरिक लोकतन्त्र र व्यवस्थापनमा एउटा नयाँ युगको सुरुवातको रूपमा उल्लेख गरिन् ।

भौतिक रूपमा उपस्थित भइरहनुपर्ने झन्झटिलो प्रक्रियालाई विस्थापित गर्दै हातहातमा डिजिटल कार्ड प्राप्त हुँदा कार्यकर्तामा नयाँ ऊर्जा सञ्चार भएको छ भने यसले पार्टीको अभिलेखलाई समेत पारदर्शी र व्यवस्थित बनाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

ad

सहमहामन्त्री डा. संग्रौलाले प्रविधि मार्फत सदस्यता नवीकरण गरेसँगै देशभरका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई यो अभियानमा सक्रियतापूर्वक सहभागी हुन विशेष अपिल समेत गरेकी छिन् । अबको समय सूचना र प्रविधिको भएकाले पार्टीका हरेक सदस्यले समयसापेक्ष आफूलाई रूपान्तरण गर्नुपर्ने र डिजिटल माध्यमबाट अध्यावधिक हुने कार्यमा कोही पनि छुट्न नहुनेमा उनको जोड रहेको छ । विराटनगर ११ बाट सुरु भएको यो उत्साहले देशभरका कांग्रेसजनमा सकारात्मक सन्देश प्रवाह गरेको छ, जसले गर्दा आगामी दिनमा पार्टीको संरचना थप गतिशील र चुस्त हुने अपेक्षा गरिएको छ ।

 सदस्यता नवीकरणको यो आधुनिक पाटोले एकातिर समयको बचत गरेको छ भने अर्कोतिर पार्टी र सदस्यबीचको सम्बन्धलाई सिधै प्रविधिसँग जोडेर केन्द्रसम्मको पहुँचलाई सरल बनाएको छ ।