धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अन्य राजनीतिक समीकरणबाट सरकार बन्ने सम्भावना नरहेको बताएका छन्।

शनिबार धनगढीमा आयोजित कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारबारे विभिन्न तहमा फैलाइएका हल्ला र अड्कलबाजीमा नलाग्न कार्यकर्तालाई आग्रह गरे। अहिले प्रदेशमा कांग्रेस–एमालेको सहकार्यमा सरकार सञ्चालन भइरहेको उल्लेख गर्दै उनले नेतृत्व परिवर्तन वा सरकार सञ्चालनसम्बन्धी विषय दुई दलबीचको आपसी समझदारीअनुसार टुंगिने बताए।

ad

सभापति थापाले वर्तमान सत्ता गठबन्धन स्थिर रहेको दाबी गर्दै वैकल्पिक समीकरणको चर्चा राजनीतिक भ्रम मात्रै भएको टिप्पणी गरे। उनले प्रदेश सरकारको निरन्तरता र सहकार्यलाई लिएर कांग्रेस र एमालेबीच नियमित संवाद भइरहेको पनि बताए।

उनले मधेश प्रदेशको राजनीतिक अवस्थाबारे पनि टिप्पणी गर्दै त्यहाँको वर्तमान सत्ता समीकरणले नै निरन्तरता पाउने दाबी गरे। देशभर राजनीतिक स्थायित्व र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै उनले दलहरूबीच सहमतिका आधारमा सरकार सञ्चालन भइरहेको बताए।