
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित कानुन दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नभएको बताइन् ।
उनले अधिकार र कानुनको प्रयोगको नाममा कतै संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायपालिकाको सार्वभौम भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको त छैन ? भन्ने गम्भीर प्रश्न उठेको बताएकी छिन् ।
प्रधानन्यायाधीश मल्लले न्यायपालिकालाई निष्पक्ष न्यायको केन्द्र बनाउनुको सट्टा स्वार्थ संरक्षणको माध्यम बनाउन खोजिएको संकेतसमेत गरिन् ।
उनले भनिन्, ‘संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन । तर कतै अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अर्कमण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न प्रयास त भएको छैन ? भन्ने प्रश्न अहिले उठेको छ ।
‘न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्ने मुकुन्डो बनाउने प्रयासमा त लागिरहेको छैन ? भन्ने पनि प्रश्न उठेको छ,’ उनले भनिन् ।
उनले आगामी दिनमा कुनै पनि बहाना बनाएर न्यायको स्वतन्त्रता कमजोर पार्ने, संवैधानिक मूल्यहरूमाथि धराप थाप्ने र कानुनी राज्यलाई कमजोर बनाउने दुष्प्रयास हुन सक्ने आशंका व्यक्त गरिन् ।
उनले संविधानको नाम लिएर संविधानविरुद्ध काम गर्नु परिवर्तन वा क्रान्ति हुन नसक्ने बताउँदै उनले संविधानको विरूप पारेर संविधानको सरोकारवाला सञ्चालकहरूको रूपमा सिँगार्न नसकिने धारणा राखिन् ।
उनले विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध सबैले साहस, प्रतिबद्धता र आवाज उठाउनुपर्ने आवश्यकता औँल्याइन् ।
उनले भनिन्, ‘आगामी दिनहरूमा कुनै कारणले र कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने र न्यायको प्रतिस्थापन गर्न आवश्यकताको विरुद्ध यो या त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयास गर्ने वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको छ ।’
‘संरचना भत्काएर परिवर्तन रोज्ने बहानामा आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला तर विधिसँगको अपेक्षा राख्नेहरूको सपना भंग हुनेछ,’ उनले थपिन्, ‘विधिको शासनविरुद्ध षड्यन्त्र गर्नेहरूको विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता सबैले देखाउन सक्नुपर्छ ।’
त्यस्तै, उनले संविधानलाई केवल राज्य सञ्चालनको कानुनी दस्ताबेजका रूपमा नभई नागरिकको जीवनपद्धतिको आधारका रूपमा स्थापित गर्नुपर्ने धारणा राखिन् ।
संविधानबाट नै आमनागरिकले परिवर्तनको वास्तविक अनुभूति गर्नसक्ने उल्लेख गर्दै उनले राज्यका तीनै अंगले संवैधानिक मूल्य, मान्यता र समर्पण भावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।
‘संविधान राज्य सञ्चालनको कानुनी दस्ताबेज मात्र नभएर नागरिकको जीवनपद्धतिको रूपमा रहनुपर्दछ । त्यसबाट नै आमनागरिकलाई संवैधानिक शासकीय परिवर्तनप्रतिको वास्तविक अनुभूति हुनसक्छ । यिनै मूल्यमान्यतालाई राज्यका तीनै अंगले आत्मसात् गर्दै उच्च समर्पण भावका साथ क्रियाशील रहन र योगदान गर्न सकौँ भन्ने कामना गर्दछु,’ उनले भनिन् ।










Facebook Comments