
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ पार्टीको आन्तरिक कार्यक्रमबारे सार्वजनिक टिप्पणी गरेपछि विवादमा परेकी छन्। पार्टी स्रोतका अनुसार सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको असन्तुष्टिपछि नेतृत्व तह उनीप्रति असन्तुष्ट बनेको छ भने स्पष्टीकरण सोध्ने तयारीसमेत गरिएको बताइएको छ।
सांसद तामाङले फेसबुकमार्फत सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम पाँचतारे होटल वा बाहिरी महँगा हलमा सञ्चालन गर्नु आवश्यक नरहेको टिप्पणी गरेकी थिइन्। उनले सिंहदरबारभित्र पर्याप्त सरकारी सभाहल उपलब्ध हुँदाहुँदै अनावश्यक खर्च गरेर बाहिर कार्यक्रम गर्नु उपयुक्त नभएको उल्लेख गरेकी छन्।
उनले सार्वजनिक गरेको अभिव्यक्तिमा कार्यक्रमका लागि हुने खर्चको पारदर्शितामाथि पनि प्रश्न उठाएकी छन्। सुरक्षाको कारण देखाएर महँगा होटल प्रयोग गरिनु औचित्यपूर्ण नभएको भन्दै उनले व्यवहारमा मितव्ययिता नदेखिए परिवर्तनको नाराले अर्थ नराख्ने तर्क गरेकी छन्।
तामाङको अभिव्यक्तिलाई लिएर पार्टीभित्र मिश्रित प्रतिक्रिया देखिएको छ। केही नेताहरूले आन्तरिक विषय सार्वजनिक रूपमा उठाउँदा पार्टीको छविमा असर परेको बताएका छन् भने केहीले खर्च र कार्यशैलीबारे उठाइएका प्रश्नलाई स्वाभाविक मानेका छन्।
रास्वपाका एक नेताका अनुसार पार्टीको आधिकारिक धारणा र आन्तरिक अनुशासनविपरीत सार्वजनिक टिप्पणी गरिएको भन्दै सांसद तामाङसँग लिखित स्पष्टीकरण माग्ने विषयमा छलफल भइरहेको छ। यद्यपि पार्टीले यसबारे औपचारिक निर्णय सार्वजनिक गरेको छैन।










Facebook Comments