काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधि र कानुनी शासनको प्रभावकारी कार्यान्वयनमा कमजोरी आए समाजमा असुरक्षा र भयको वातावरण सिर्जना हुने बताएका छन्। कानून दिवस २०८३ का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कानून दोषीका लागि डर र निर्दोषका लागि भरोसाको आधार बन्नुपर्ने उल्लेख गरे।

राष्ट्रपति पौडेलले विधिद्वारा स्थापित पद्धति, परम्परा र संस्थागत अभ्यास कमजोर बन्दै गए त्यसले लोकतान्त्रिक मूल्य र सामाजिक स्थिरतामाथि नकारात्मक असर पार्ने चेतावनी दिए। उनले सुशासन, शान्ति, समृद्धि र सामाजिक मर्यादा कायम राख्न विधि र थिति अपरिहार्य रहेको बताए।

ad

उनले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, मानव अधिकार, मौलिक अधिकार, स्वतन्त्र न्यायपालिका तथा कानुनी शासनजस्ता लोकतान्त्रिक आधारभूत मान्यतालाई संस्थागत गरेको उल्लेख गर्दै ती मूल्यको संरक्षण सबै निकायको साझा जिम्मेवारी भएको धारणा राखे।

राष्ट्रपति पौडेलले बदलिँदो समयअनुसार कानून निर्माण र संशोधन आवश्यक रहेको पनि बताए। आधुनिक प्रविधिको प्रयोगमार्फत नागरिकलाई सहज रूपमा न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने, मुद्दा व्यवस्थापनलाई छिटोछरितो बनाउनुपर्ने तथा न्यायपालिकाप्रति जनविश्वास अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा रामसहायप्रसाद यादव, सपना प्रधान मल्ल, डोलप्रसाद अर्याल, नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।