काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेका त्रुटिपूर्ण काम प्रदेश र स्थानीय तहले दोहोर्‍याउन नहुने बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’ छलफल कार्यक्रममा बोल्दै उनले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनी सीमाभन्दा बाहिर गएर डोजर प्रयोग गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।

ad

थापाले नागरिकलाई त्रास फैलाउने शैलीमा होइन, कानुन, नीति र योजनाको आधारमा मात्रै समस्या समाधान खोजिनुपर्ने धारणा राखे। 'कानुनले दिएको अधिकारभन्दा बाहिर गएर कुनै कदम चालिनु हुँदैन,' उनले भने।

उनले लामो समयदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट समाधान नहुने उल्लेख गर्दै मानवीय र योजनाबद्ध दृष्टिकोण आवश्यक रहेको बताए। वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवा र दीर्घकालीन व्यवस्थापन सुनिश्चित गरेर मात्रै प्रभावकारी समाधान सम्भव हुने उनको भनाइ थियो।

थापाले कांग्रेसले यस विषयमा छुट्टै टोली गठन गरेर अनुगमन र मूल्याङ्कन गरिरहेको जानकारी पनि दिए। ‘ग्रिन टेबल’ छलफलबाट प्राप्त सुझावका आधारमा प्रदेश र स्थानीय सरकारलाई औपचारिक सुझाव पठाइने उनले बताए।

नेपाली कांग्रेसले पछिल्लो समय ‘ग्रिन टेबल’ कार्यक्रममार्फत नीति तथा जनसरोकारका विषयमा खुला बहसको अभ्यास सुरु गरेको छ। पार्टीका अनुसार परम्परागत राजनीतिक भाषणभन्दा समाधानमुखी छलफललाई प्राथमिकता दिँदै विज्ञ र सरोकारवालासँग प्रत्यक्ष संवाद अघि बढाइएको हो।