काठमाडौं । पश्चिम नवलपरासीमा जीवित व्यक्तिको नाममा मृत्यु दर्ता प्रमाणपत्र बनाएको प्रकरणमा संलग्न रहेको आरोपमा एक वडाध्यक्षसहित तीनजनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।

जिल्ला अदालतले प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी तथा तारिख मिया लाई थुनामा पठाउने आदेश दिएको हो। उनीहरूमाथि झुटा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गराएको अभियोगमा मुद्दा दायर गरिएको थियो।

ad

अदालतका अनुसार घटनामा संलग्न ११ जनामध्ये दुईजना धरौटीमा रिहा भएका छन् भने अन्य ६ जना फरार छन्। सूचना अधिकारी भेषराज खनालका अनुसार आरोपितहरूले झुटा विवरणका आधारमा मृत्यु दर्ताको निवेदन दिने, सिफारिस गर्ने र प्रमाणपत्र जारी गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणमा पक्राउ परेका इशानेसा मिया र छोटे खाँ भने ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। उनीहरू सर्जमिन मुचुल्काका साक्षी रहेको बताइएको छ।

कसरी खुल्यो घटना ?

सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै उनको नाममा मृत्यु दर्ता गरिएको थियो। आफ्नै मृत्यु दर्ता बनेको जानकारी पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

अनुसन्धानका क्रममा तारिख मियाका बाबु जमालुद्दिन अन्सारीको २०६० सालमै मृत्यु भएको खुलेको छ। बाबुको नामसँग मिल्दोजुल्दो नाम भएका जीवित व्यक्तिको विवरण प्रयोग गरी मृत्यु दर्ता गराइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मृतक बाबुको नागरिकता नभएका कारण तारिखले आफ्नो नागरिकता बनाउन सजिलो होस् भन्ने उद्देश्यले जीवित व्यक्तिको नाममा मृत्यु दर्ता गराएको आशंका गरिएको छ। 

उनले जीवित व्यक्तिको नागरिकता तथा आफ्नो जन्मदर्ताको प्रतिलिपि संलग्न गर्दै २०८२ कात्तिक २३ गते वडामा निवेदन दिएका थिए।

त्यसपछि सर्जमिनका आधारमा वडा कार्यालयबाट मंसिर महिनामा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको अनुसन्धानबाट खुलेको छ।