
काठमाडौं । नेपाल ए राष्ट्रिय क्रिकेट टोली ले अभ्यास शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई ३ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। जवाफमा नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपालको जितमा मध्यक्रमका ब्याटर मयन यादव ले उत्कृष्ट प्रदर्शन गरे। उनले ७२ रनको महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डोर्याए। उनले आक्रामक ब्याटिङ गर्दै ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
ओपनर तृतराज दास ले २३ तथा अनिल शाह ले २७ रन जोडे। कप्तान देव खनाल १७ रनमा आउट हुँदा सन्दीप जोरा ले ३६ रनको योगदान दिए। कुशल मल्ल ३३ रन बनाएर आउट भए भने पवन सर्राफ २४ रनमा अविजित रहे।
अमेरिकाका लागि मिलिन्द कुमार ले दुई विकेट लिए। सौरभ नेत्रभाल्कर, नोस्थुस केन्जिगे, रुसिल उगारकर, हर्मित सिंह र सञ्जय कृष्णमूर्तिले समान एक–एक विकेट हात पारे।
यसअघि अमेरिकाका ओपनर समित पटेल ले शानदार शतक प्रहार गरेका थिए। उनले १०८ बलमा ११६ रन बनाउँदै टोलीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ पुर्याए। उनको इनिङ्समा १० चौका र ५ छक्का समावेश थियो।
मोनांक पटेलले २० रन बनाउँदा हर्मित सिंह २५ तथा जसप्रित सिंह ३३ रनमा अविजित रहे।
नेपाल ‘ए’ का लागि पवन सर्राफ ले दुई विकेट लिए। विपिन खत्री, साहब आलम, वसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले समान एक–एक विकेट लिए।
यसअघि पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली लाई ४५ रनले पराजित गरेको थियो।









Facebook Comments