काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी त्यागेका नेता सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन्। पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि आयोजित कार्यक्रममा बोल्दै किरातीले आफ्नो राजनीतिक सहकार्य जनताको चाहना र दबाबअनुसार भएको बताएका छन्। उनले यसलाई 'ऐतिहासिक एकता'को संज्ञा दिँदै जनताले दिएको निर्देशनलाई आफूहरूले स्वीकार गरेको उल्लेख गरे।

ad

उनले आँखामा सपना, मनमा प्रतिबद्धता, काँधमा जिम्मेवारी र छातीमा इमानदारी बोकेर नयाँ यात्रामा अघि बढेको बताएका छन्। किरातीले यो एकता कुनै व्यक्तिगत स्वार्थका लागि नभई जनताको आकांक्षा पूरा गर्ने उद्देश्यले गरिएको दाबी गरे।

उनले आगामी दिनमा जनताले आफूहरूलाई साथ दिने विश्वास व्यक्त गर्दै देश निर्माणको अभियानमा सबैलाई सहभागी हुन आह्वान गरे। 'यो केवल कथा होइन, देश र समाज बनाउने अभियान हो,' उनले भने।

किरातीले विगतका राजनीतिक घटनाक्रमको समीक्षा गर्दै इतिहासका कमजोरीबाट शिक्षा लिएर नै आफूहरू एकताको निष्कर्षमा पुगेको बताए। उनका अनुसार विगतका अनुभव र चुनौतीहरूले नयाँ राजनीतिक सहकार्यको आधार तयार पारेका हुन्।