संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको परिषद् बैठकले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित शीर्ष वरीयताका न्यायाधीशहरूलाई छाडेर चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेको हो ।

ad

संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएका थिए ।

शर्मा वि.सं. २०२७ असार ४ गते पर्सा जिल्लाको वीरगञ्जमा जन्मिएका हुन् । उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बी.एल. तथा भारतको पुणे विश्वविद्यालयबाट एल.एल.एम. उपाधि हासिल गरेका थिए ।

साथै, उनले नेपालस्थित त्रिभुवन विश्वविद्यालयबाट श्रम कानून विषयमा विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका हुन् ।

उनी सन् १९९५ मा अधिवक्ताका रूपमा दर्ता भई कानूनका विभिन्न क्षेत्रमा वकालत पेशामा संलग्न रहेका थिए । उनले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानूनी परामर्शसमेत प्रदान गरेका थिए ।

त्यसैगरी, उनले सन् २०१३ जुन १० देखि सन् २०१५ डिसेम्बर १२ सम्म बुटवल र पाटनस्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा काम गरेका थिए ।