काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले पत्रकारिता क्षेत्रमाथि कुनै प्रकारको नियन्त्रण वा अंकुश लगाउने नीति नलिएको बताएका छन् । उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षणप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

राष्ट्रिय पत्रकारिता दिवस–२०८३ का अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।

ad

उनले प्रेस स्वतन्त्रता केवल अधिकार मात्र नभई जिम्मेवारी र उत्तरदायित्वसँग पनि जोडिएको उल्लेख गर्दै सत्य र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता औँल्याए । समाजलाई सही दिशा दिन पत्रकारिताले विश्वसनीयता कायम राख्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र फेक न्यूजप्रति चिन्ता व्यक्त गरे । उनले तथ्य परीक्षण अर्थात् ‘फ्याक्ट चेक’ लाई आधुनिक पत्रकारिताको अनिवार्य अभ्यासका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधार : प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको जानकारी दिँदै उनले सुशासन प्रवर्द्धनमा जिम्मेवार सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताए ।

सूचना प्रविधिको तीव्र विस्तारले सञ्चार क्षेत्रलाई नयाँ अवसरसँगै चुनौती पनि थपेको उल्लेख गर्दै उनले डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता जोगाउन प्रविधिको सही उपयोग आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमको आर्थिक दिगोपन र व्यावसायिक सुरक्षाका लागि सरकारले ‘विज्ञापन नीति–२०८३’ तयार गरिरहेको जानकारी पनि दिए । उक्त नीतिले छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमको हित संरक्षण गर्ने गरी व्यवस्था गरिने उनले बताए ।