
काठमाडौं । प्रदेश सरकारको बदलिँदो राजनीतिक समीकरणबीच नेपाली कांग्रेस र नेकपा एमाले दुवैले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सत्ता सहकार्यको प्रस्ताव अघि सारेका छन् । प्रदेशस्तरमा नयाँ साझेदार खोज्ने प्रयासस्वरूप दुवै दलका शीर्ष नेताले प्रचण्डसँग छलफल गरेका हुन् ।
स्रोतका अनुसार कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टाछुट्टै रूपमा प्रचण्डलाई प्रदेश सरकारमा सहकार्यका लागि प्रस्ताव राखेका छन् । हाल मधेश प्रदेशबाहेक अन्य ६ प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको सरकार कायम छ ।
२०८१ असार १७ गते भएको सातबुँदे सहमतिपछि संघीय र प्रदेश सरकारमा कांग्रेस र एमालेबीच सहकार्य सुरु भएको थियो । तर २०८२ भदौमा भएको जनआन्दोलनपछि संघीय सरकारमा एमाले नेतृत्व विस्थापित भए पनि प्रदेश सरकारमा पुरानै गठबन्धन कायम रह्यो ।
अब भने दुवै दलले वर्तमान सहकार्यलाई निरन्तरता दिन कठिन हुने निष्कर्ष निकालेको बताइएको छ । कांग्रेसभित्र नेतृत्व परिवर्तन भई शेरबहादुर देउवाको स्थानमा गगन थापा सभापति बनेपछि राजनीतिक समीकरण फेरिन थालेको छ भने एमालेमा केपी शर्मा ओली यथावत् नेतृत्वमा छन् ।
नेकपा स्रोतका अनुसार प्रचण्डले कांग्रेस र एमालेबाट आएका प्रस्तावबारे पार्टीभित्र छलफल गरेका छन् । तर उनले कुनै एक दललाई विस्थापित गरेर अर्को दलसँग मात्र सहकार्य गर्ने पक्षमा आफू नरहेको संकेत दिएका छन् ।
प्रचण्डले तीन ठूला दलसहित मधेशकेन्द्रित शक्तिहरूलाई समेटेर सर्वदलीय स्वरूपको प्रदेश सरकार बनाउन उपयुक्त हुने धारणा राखेको नेकपाका नेताहरूले बताएका छन् ।
यद्यपि नेकपाभित्र एमालेसँगको सहकार्यलाई बढी स्वाभाविक मान्ने मत पनि बलियो बन्दै गएको छ । केही नेताहरूले प्रदेश सरकारबाट सहकार्य सुरु गर्दै दीर्घकालमा वामपन्थी एकीकरणसम्म पुग्ने रणनीतिमा छलफल भइरहेको बताएका छन् ।
नेकपाका एक नेताले वाम लोकतान्त्रिक शक्तिबीच सहकार्य अपरिहार्य बन्दै गएको उल्लेख गर्दै समान विचारधारा भएका दलहरूबीच एकताको आवश्यकता झन् बढेको बताएका छन् ।










Facebook Comments