काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको विवाद समाधानका लागि निष्पक्ष र सबैको स्वामित्व रहने गरी १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले कानुनी रूपमा नेतृत्वको टुंगो लागिसकेको भए पनि राजनीतिक र मनोवैज्ञानिक दूरी अझै बाँकी रहेको उल्लेख गरे ।

विशेष महाधिवेशनपछि विकसित परिस्थितिबारे प्रतिक्रिया दिँदै महतले पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा आधारित प्रक्रिया आवश्यक रहेको बताए । उनका अनुसार विशेष महाधिवेशनमा सबै पक्षको सहभागिता नभएकाले त्यसले पूर्ण राजनीतिक स्वीकार्यता पाउन नसकेको धारणा पार्टीभित्र कायम छ ।

ad

उनले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट विशेष महाधिवेशनले वैधानिकता पाएपछि आफूहरूले कानुनी निर्णय स्वीकार गरेको स्पष्ट पारे । तर, पार्टीलाई दीर्घकालीन रूपमा मजबुत बनाउन अबको महाधिवेशन विश्वसनीय, निष्पक्ष र समावेशी हुनुपर्नेमा उनले जोड दिए ।

डा. महतले १५औँ महाधिवेशनको तयारीका लागि सबै पक्षको प्रतिनिधित्व रहने सहमतिको संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारे । उनका अनुसार त्यस्तो संयन्त्रले क्रियाशील सदस्यता, निर्वाचन प्रक्रिया र महाधिवेशन व्यवस्थापनका विषयमा साझा समझदारी कायम गर्न सक्छ ।

क्रियाशील सदस्यता अद्यावधिकको विषयमा उनले अहिलेको प्रक्रिया व्यावहारिक नभएको टिप्पणी गरे । जिल्लास्तरमै आवश्यक अभिलेख सुरक्षित रहेको दाबी गर्दै उनले फेरि भौतिक उपस्थितिका आधारमा सदस्यता परीक्षण गर्न खोज्दा पार्टी झन् विभाजित हुने खतरा रहेको बताए ।

उनले पार्टीभित्र भागबन्डा र एकपक्षीय निर्णयले विवाद थप जटिल बन्न सक्ने चेतावनी पनि दिए । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलालाई हटाउने निर्णयजस्ता कदमले एकता कमजोर बनाएको उनको भनाइ थियो ।

सभापति गगन थापाले पछिल्ला दिनमा वरिष्ठ नेताहरूसँग संवाद थालेको विषयलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै महतले समयमै सहमति जुटाउनुपर्ने बताए । ढिलाइ भए पार्टी संगठन कमजोर हुने र प्रतिपक्षको भूमिकासमेत प्रभावहीन बन्न सक्ने उनको भनाइ छ ।

उनले कांग्रेसजस्तो लामो राजनीतिक इतिहास भएको दललाई बलियो प्रतिपक्षका रूपमा स्थापित गर्न आन्तरिक एकता अपरिहार्य रहेको उल्लेख गरे । लोकतन्त्र, सुशासन र राष्ट्रिय हितका मुद्दामा प्रभावकारी भूमिका खेल्न पनि पार्टीभित्र सहमति र विश्वासको वातावरण निर्माण हुनुपर्नेमा उनले जोड दिए ।

डा. महतले आधिकारिकता पाएको पक्षले लचकता र सकारात्मक पहल देखाए पार्टीभित्रको विवाद सहजै समाधान हुन सक्ने विश्वास व्यक्त गरे ।