काठमाडौं । नेपाल ‘ए’ टोलीले स्कटल्यान्डलाई ४५ रनले हराउँदै अभ्यास शृंखलामा विजयी सुरुआत गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा घरेलु टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो । जवाफमा २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमै समेटियो ।

ad

नेपालका लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । ओपनर मयन यादवले ४५ रन बनाउँदा अनिल शाहले १८ रन जोडे । मध्यक्रममा सन्दीप जोराले ३४ रन बनाए भने पवन सर्राफले ३१ रनको उपयोगी पारी खेले । अन्त्यतिर दीपकप्रसाद डुम्रे २३ रनमा अविजित रहँदा रासिद खानले १४ रन थपे ।

स्कटल्यान्डका बलरमध्ये ब्राड्ले जेम्स करी र साफ्यान सरिफले समान २ विकेट लिए । ज्याक जार्भिस, ओलिभर डेभिसन र मार्क वाटले एक–एक विकेट हात पारे ।

लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डका ओपनर फिन्ले म्याकक्रेथले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा ५२ रन बनाउँदै ६ चौका र १ छक्का प्रहार गरे । मार्क वाटले ३७ रन जोडे । यी दुईले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए ।

त्यसपछि ब्रान्डन म्याकमुलेनले २१, म्याथ्यू क्रसले २२ तथा ओलिभर डेभिसनले १७ रन बनाए । आठौं विकेटका लागि ओलिभर डेभिसन र ज्याक जार्भिसले ५१ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । जार्भिसले व्यक्तिगत ४५ रन बनाए भने ज्यासपर डेभिसन १४ रनमा अविजित रहे ।

नेपालका बलरमध्ये रासिद खान सर्वाधिक सफल रहे । उनले ३ विकेट लिए । साहब आलम, युवराज खत्री र वसिर अहमदले समान २–२ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे ।

नेपाल ‘ए’ ले अब दोस्रो अभ्यास खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका छ ।